तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हाम्रो पार्टीको तत्कालीन कार्यनीति: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीन कार्यनीति भएको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीन मूल कार्यनीति बनाएको समेत स्पष्ट पारे । उनले निर्वाचन सम्पन्न गर्ने सर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरूको उद्देश्य हुनुपर्ने बताए । उनले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।
नेता श्रेष्ठले भने ‘हाम्रो अहिलेको तत्कालीन कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस भन्नेलाई बनाएका छौँ । र घोषित मितिमा निर्वाचन सम्पन्न भएन भने देशमा अझ संकट थपिने खतरा छ । अनिश्चित र अन्योलको दिशातिर देश जाने खतरा छ । त्यसकारण निर्वाचन सम्पन्न हामीले टाइममा नै गर्नुपर्दछ । यसका निम्ति पहिलो आवश्यकता सरकारले त्यो दृढता गरोस् । दोस्रो हामी सबै राजनीतिक पार्टीहरू त्यसका लागि एकताबद्ध भएर जाऔँ । कतिपय राजनीतिक पार्टीहरू अहिले पनि अलमलमा छन् । उहाँहरूलाई हामी अपिल गर्न चाहन्छौ–घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्छ । त्यस उद्देश्यका निम्ति यो सरकारलाई सफल पार्नु आजको आवश्यकता हो । त्यसका निम्ति सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ । निर्वाचन आयोगले पनि त्यो ढंगले तयारी गर्नुपर्दछ ।’
नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराए ।








