म्यानमारमा पोथी हात्ती मोमो याङ्गुनको ७२औं जन्मदिन मनाइयो (भिडिओ)

काठमाडौं । यांगुन प्राणी उद्यानमा दशकौंदेखि आगन्तुकहरूको मन जित्दै आएकी हात्ती मोमोले हालै आफ्नो ७२ औं जन्मदिन मनाइन् । यस अवसरमा चिडियाखाना उत्सवमय वातावरणले रंगिएको थियो, जहाँ सयौं मानिसहरू मोमोलाई शुभकामना दिन भेला भएका थिए ।
जन्मदिनको विशेष अवसरका लागि मोमोलाई सुन्दर सजावटी कपडाले सजाइएको थियो । हात्तीको आकारका हेडब्यान्ड लगाएका बालबालिका र वयस्कहरूले उनलाई जन्मदिनको शुभकामना गीत गाए, जसमा मोमो शान्त मुद्रामा उभिइरहेकी थिइन् । गीत सकिएपछि, मोमो अगाडि बढी र केरा, उखु, काँक्रो र तरबूजले बनेको एउटा विशाल फलफूलको केक आफ्नो सुँडले काटिन् । पछि उनका तीन हात्ती साथीहरू पनि भोजमा सामेल भए ।
ह्काट चिडियाखाना र बगैंचा व्यवसाय इकाईका सल्लाहकार मिन्ट थेनले यो उत्सवले एउटा महत्त्वपूर्ण सन्देश बोकेको बताए । मोमो सन् १९६१ मा सात वर्षको उमेरमा यांगुन प्राणी उद्यानमा आएकी थिइन् । यति धेरै वर्ष बितिसक्दा पनि, चिडियाखानाका कर्मचारीहरूको निरन्तर हेरचाहका कारण उनी अझै पनि स्वस्थ जीवन बिताइरहेकी छिन् ।
मोमोले आफ्नो अद्वितीय नाच्ने र प्रतिक्रिया दिने क्षमताले ५० वर्षभन्दा बढी समयदेखि चिडियाखानाका आगन्तुकहरूलाई मनोरञ्जन दिँदै आएकी छिन् । उनको ६० औं जन्मदिनदेखि उनको जन्मदिन यांगुन प्राणी उद्यानमा वार्षिक रूपमा मनाइँदै आएको छ ।








