रवि लामिछानेको मागमा उच्च अदालतको आदेश: छविको फाइल पनि सँगै पेस गर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगोअनुसार रकम बुझाई थुनाबाहिरबाट मुद्दा लड्न गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले नयाँ आदेश जारी गरेको छ । अदालतले छविलाल जोशीको मुद्दा पनि सँगै पेस गर्न निर्देशन दिएको हो ।

उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो ।

एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगोअनुसार रकम बुझाएर कारागारबाहिरै पुर्पक्षका लागि माग गरेका थिए, तर जिल्ला अदालतले अस्वीकार गरेको थियो ।

त्यसपछि उनले उच्च अदालत बुटवलमा पुनरावेदन दिएका थिए । लामिछानेले पनि यसअघि जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

उच्च अदालतले यसअघि कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको थियो । बिहीबार लामिछानेको मुद्दाको पेसी चढ्दा, इजलासले दुवै मुद्दा एकै प्रकृतिका भएकाले एकसाथ राख्न निर्देशन दिएको हो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो, तर लामिछाने र जोशी दुवैको मुद्दा सम्बन्धी फाइलहरू सुरक्षित रहेका थिए । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, अब दुवै मुद्दा संयुक्त रूपमा सुनुवाइका लागि पेश गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =