भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो सुरु

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो सुरु भएको छ ।
मंगलवार एक कार्यक्रमबीच कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले सो एक्स्पोको उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा बोल्दै उनले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताए । उनले किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवर्द्धनमा जोड दिने नीति ल्याएको पनि स्पष्ट पारे ।
सचिव शर्माले भने ‘कृषि नीतिलाई समयसापेक्ष बनाएका छौँ । त्यो पनि हामीले ३, ४ वर्ष लगाएर गरेका हौ । र त्यो नीतिको मूल उद्देश्य भनेको डोमेस्टिक प्रमोसन र नेशनल प्रोटेक्शनमा गएका छौँ । अब कुनैपनि किसानहरूलाई हामी अनुमान मात्रै होइन, बजारमा लगेर पनि त्यसलाई राज्यले सुरक्षा दिने काम अव गर्नेछ । बाहिरको बजारबाट प्रोटेक्ट गर्न सकिएन भने त्यो अवस्थामा जति नै उत्पादन भएपनि चुनौती हुन्छ । किसान मर्कामा नै पर्दछन् । त्यसकारण अबको नीतिको मूल विशेषता भनेको त्यसैमा फोकस गरेका छौँ ।’
चार दिनसम्म चल्ने मेलामा ७० वटा पुष्पका स्टलहरू रहेका छन् । ३५ हजार भन्दा बढिले अवलोकन गर्ने र यसले सो व्यवसायको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।








