विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले आफ्नो पद जोगाउनका लागि निर्णायक सामना गर्दैछन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले प्रदेश सभालाई पत्र लेख्दै विश्वासको मत लिने वातावरण मिलाउन आग्रह गरेका थिए । सोहीअनुरूप आजको बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।

मुख्यमन्त्री सिंहको यो अग्निपरीक्षा आकस्मिक भने होइन । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ चर्किएको समयमा उनले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए। त्यसबेला उनले विषम परिस्थितिमा जनधनको क्षति नहोस् भन्ने उद्देश्यले सामाजिक सञ्जालमा राजीनामाको घोषणा गरेको बताएका थिए । तर, अन्तरिम सरकार गठनपछि उनले आफ्नो भनाइबाट पछि हटेका थिए, जसले गर्दा राजनीतिक वृत्तमा निकै टिकाटिप्पणी भएको थियो ।

बोली फेरेको भन्दै आफ्नै दल जनमत पार्टीले गत भदौ ३१ गते मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरी मुख्यमन्त्री र मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । संवैधानिक प्रावधानअनुसार, समर्थन फिर्ता लिएको मितिले ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । सोही समयसीमाभित्र आज मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =