निर्वाचन आयोगले दलहरूसँग असोज ३० गते छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विषयमा असोज ३० गते दलहरूसँग छलफल गर्ने भएको छ ।
निर्वाचन मिति घोषणा भइसकेपछि पनि राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेको भन्दै आलोचना भएपछि आयोगले छलफलको तयारी थालेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दलहरूसँग छलफल गर्न असोज ३० का लागि तयारी भएको छ । उनले भने, ‘औपचारिक पत्र लेख्न बाँकी छ, तर छलफलको मिति तय भइसकेको छ ।’
सरकारले फागुन २१ मा चुनाव गर्ने निर्णय गरेपछि आयोगले पनि कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, निर्वाचनमा भाग लिने प्रमुख दलहरूलाई समेटेर कुनै पूर्व–परामर्श नगरिएको भन्दै आलोचना भइरहेको छ ।
चुनाव प्रक्रिया, व्यवस्थापन, आचारसंहिता, निर्वाचन प्रणाली सुधार लगायतका विषयमा हुने भनिएको छलफलमा आयोगले दर्ता भएका दलहरूलाई आमन्त्रित गर्ने जनाएको छ ।








