सौराहा आउन थाले पर्यटक

चितवन । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे ।
गत वर्षहरूमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरूमा केही उत्साह थपिएको छ ।
यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरूले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए ।
क्षेत्रीय होटल सङ्घका उपाध्यक्षसमेत रहेका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए । उनले भने, ‘दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।’ आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे ।
क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताए । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउछन् ।
नेपालीहरू न्यून भए पनि विदेशीको सङ्ख्या बढ्दो छ । उनले भने, ‘बुकिङ राम्रो नभए पनि सोझै आउनेहरू बढ्न थालेका छन् ।’ साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरूमा आशा जगाएको पाण्डे बताउछन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउछन् । तिहारसँगै स्वदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको अनुमान छ ।
उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारीसमेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए ।
चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उनले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए ।
होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउछन् । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउछन् । हात्ती सफारी गर्नेहरू पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ ।
विगत वर्षहरूमा दसैँको समयमा हात्ती चढ्नेहरूका लागि पुर्याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावर हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ ।








