अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेनजी आन्दोलित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेनजी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् ।
प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
जेनजी मुभमेन्ट अलायन्सका युवाहरुले सोमवार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमुलक पत्र समेत आयोगमा पठाएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् ।
राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । ‘हामीले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तज्यूहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन दर्ता गराएका छौं । यो भन्दा पहिले पनि हामीले सामाजिक सञ्जालमा राजीनामाको अभियान नै शुरु गरेका थियौं । हिजो हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा र प्रधानमन्त्रीको कार्यालयसहितलाई बोधार्थ राखेर पत्र पठाएका थियौं त्यसैको औपचारिकताका लागि आज हामीले निवेदन दर्ता गराएका छौं’ उनले भने ।
अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।








