टिप्पणी

बालुवाटारबाट गुण्डु पुग्दा पनि सुध्रिएनन् ओली

काठमाडौं । आफ्नै दम्भ र घमण्डका कारण प्रधानमन्त्री पद नै गुमाएर सेनाको शरणमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शैली र सोचमा परिवर्तन देखिएको छैन ।

भक्तपुरको गुण्डुबाट शनिबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका ओलीको आत्मप्रशंसायुक्त शैली र अरूलाई दोष थोपर्ने प्रवृत्तिले एकचोटि फेरि पुरानै राजनीतिक सोचको झल्को दियो ।

७५ जनाको ज्यान गएको जनआन्दोलनपछि राजीनामा दिन बाध्य भएका ओलीले अझैसम्म न कुनै आत्मसमीक्षा गरेका छन्, न नैतिक जिम्मेवारी स्वीकारेका छन् । उल्टै आन्दोलनको हिंसात्मक रूपबारे ‘मलाई थाहा छैन’ भन्ने अभिव्यक्तिले उनको संवेदनहीनता र नेतृत्वमा उत्तरदायित्वको अभाव प्रष्ट देखाउँछ ।

ओलीजस्ता अनुभवी नेता सत्तामा हुँदा जनतालाई सुरक्षाको अनुभूति दिन असफल भए, अनि सत्ताबाट बाहिरिएपछि अझै पनि सत्ता पाउनकै लागि यथास्थितिको बचाउ गर्ने काम गर्दैछन् । यस्तो प्रवृत्तिले नेपाली राजनीतिमा आत्मआलोचनाको संस्कार कमजोर बनाएको छ ।

वास्तवमा, जनआन्दोलनले उठाएका सवालहरू शासनमा जवाफदेहिता, पुस्तान्तरण, अवसरको समानता, यी कुनै पार्टी वा नेताको विरोधका लागि मात्र होइनन् । यी माग सिस्टम सुधार गर्ने उद्देश्यले उठाइएको हो । तर, यिनलाई व्यक्तिगत आक्रमण ठान्ने ओली प्रवृति राजनीति अझै पनि व्यक्तिकेन्द्रित सोचमा अल्झिएको प्रमाण हो ।

प्रधानमन्त्री भएर बसेको बेला घटनाबारे जानकारी नहुने, गोली कसले चलायो थाहा नहुने, अनि हिंसाको जिम्मेवारी नलिने नेतृत्व राष्ट्रिय सुरक्षाको व्यवस्थापन गर्न कत्तिको सक्षम थियो ? प्रश्न यतिखेर केवल जनताबाट होइन्, इतिहासबाट पनि उठिरहेको छ ।

अहिलेको परिस्थितिमा ओलीले आत्मसमीक्षा गरेर नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गरेको भए राजनीतिक परिपक्वता र उत्तरदायित्वको उदाहरण हुन्थ्यो । तर, उनि फेरि पनि सत्ता बाहिरको प्रधानमन्त्रीजस्तै प्रस्तुत भइरहेका छन् ।

यदि पुराना नेताहरू अझै पनि हामी बाहेक विकल्प छैन भन्ने सोचमा अडिन्छन् भने नयाँ पुस्ताले उठाएका आवाज अझै बलियो रूपमा आउनेछन् । अबको समय परिवर्तनको हो, र परिवर्तन पुरानै प्रवृत्तिबाट सम्भव छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =