चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली

काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि संयुक्त ट्राफिक र्याली गरेको छ ।
आईतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त र्याली गरेका हुन् ।
र्याली कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताए । उनले लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने बताए ।
नेपालीहरुको भावनाअनुरुप पारदर्शिता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको बताए ।
चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको बताए ।
उनले भने ‘नेपालमा सुशासन कायम गर्नुपर्छ, नेपालमा लोकतन्त्र, सुशासन, पारदर्शिता भएर सुरक्षित समाज सिर्जना गर्नुपर्छ । नेपाली दाजुभाई दिदिबिहिनीको भावनाअनुरुप अहिलेसम्मका हाम्रा क्रियाकलापहरु भइरहेका छन् । सुशासन पारदर्शिता कायम गर्न हामी लागिपरेका छौँ । हामी सबैले आफ्नो कर्ममा नेपालीहरुको चाहनाअनुसार कानूनले तोके बमोजिम क्रियाकलाप गर्नुपर्छ । चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले जिउ ज्यानको डर हुने गरेको भन्ने गुनासो छ । हामीले सुरक्षा दिन जरुरी छ ।’
उनले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए । उनले कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशिल रहेको बताए ।








