पूर्वअध्यक्ष तिमिल्सिनाले गाडी फिर्ता गरेनन्, ७ महिनाअघि नै पठाइएको थियो पत्र !

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अध्यक्ष पदमा बहाल हुँदा चढ्दै आएको सरकारी गाडी अझै फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका अनुसार उनलाई गाडी फिर्ता गर्न ७ महिना पहिले नै पत्र पठाइएको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

‘पत्र गएपनि उहाँबाट कुनै रेस्पोन्स भएन,’ स्रोतले भन्यो । तिमिल्सिनाको अध्यक्ष पदको कार्यकाल गत २० फागुन २०८० मा समाप्त भएको थियो ।

२०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका तिमिल्सिना सोही वर्ष राष्ट्रिय सभाका अध्यक्ष बनेका थिए । छ वर्षे कार्यकाल पूरा गरेर उनी २०८० फागुन २० गते पदबाट बिदा भएका हुन् ।

संसद सचिवालयका अनुसार तिमिल्सिना अध्यक्ष हुँदा प्रयोग गर्दै आएको बीवाईडी एटो थ्री इलेक्ट्रिक गाडी अझै उनको जिम्मामा छ । यद्यपि, पूर्वअध्यक्षलाई गाडी सुविधा दिने कुनै प्रावधान छैन ।

यसैबीच, असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई सेवानिवृत्त पदाधिकारीहरूले लिएका सवारीसाधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी फिर्ता गराउने विषयमा पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =