विद्यार्थीहरूको भविष्यसँग सम्झौता गर्न तयार छैनौँ : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पुतलीसडक चोकदेखि भृकुटीमण्डप जाने मार्गमा रहेको पद्मोदय स्कुलको परिसरमा रहेका सटर हटाउने निर्णयले सार्थकता पाएको छ ।
विद्यालय परिसरमा रहेका सटरलाई हटाएर विद्यालयको जग्गा विद्यालयलाई नै फिर्ता गराएका छन् । उनले विद्यालयको परिसरमा रहेका सटर हटाएर खेलमैदान लगायतका संरचना बनाइएको जानकारी दिए ।
पद्मोदय स्कुल, जुन करिब ८० वर्ष पुरानो हो, यसका जग्गामा विभिन्न प्रकारका सटरहरू सञ्चालनमा थिए । यी सटरहरू स्कुलको भवन भित्र बनाइएका थिए र विशेष गरी व्यापारिक प्रयोजनको लागि भाडामा दिइन्थ्यो । मेयर शाहका अनुसार, यस्तो कार्यले स्कुलको मुख्य उद्देश्य अध्यापन र अध्ययनका लागि अनुकूल वातावरण सिर्जना गर्नेमा प्रतिकूल असर पारेको थियो ।
उनले भने, ‘स्कुलमा सबै भन्दा ठुलो हक विद्यार्थीको हुन्छ । काठमाण्डौ महानगर र नेपाल सरकारको नीति अनुसार स्कुलहरू व्यापारिक थलो हैन, अध्ययन अध्यापनको केन्द्र हुनु पर्छ भन्ने उद्देष्यले हामीले पद्मोदयमा त्यहाँको सटर हटायौँ । सो स्थानमा विद्यार्थीलाई खेल्ने मैदान बनाउने टेन्डर आवहान भईसकेको छ भने विद्यालयले महानगरबाट थप अनुदान पनि प्राप्त गर्नेछ । अन्य स्कुलको हकमा पनि हुने पद्मोदय जस्तै हो ।’
यस निर्णयसँगै, स्कुलको परिसरमा खेल्ने स्थानको निर्माणका लागि टेन्डर आव्हान गरिसकेको छ । साथै, विद्यालयले काठमाडौँ महानगरबाट थप अनुदान प्राप्त गर्नेछ ।
शाहले भने, ‘सरकारी स्कुलहरूमा गुणस्तरिय पढाइका साथै अतिरिक्त क्रियाकलापको विकल्पमा अन्य कुरामा हामी सम्झौता गर्ने छैनौँ । स्कुल शिक्षा विद्यार्थीको लागि मात्र होइन, मुलुक, सभ्यता र संस्कृतिको भविष्यका लागि पनि प्रमुख बिषय हो ।’
सहर भरिका अन्य सरकारी स्कुलहरूमा पनि यस्तै सुधारात्मक कदमहरू लागू गर्ने योजना रहेको मेयर शाहले उल्लेख गरेका छन् ।








