भ्रष्टीकृत भइसकेका दलहरूलाई फेरि टाउको उठाउन दिनुहुँदैन: डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने उनको धारणा छ । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिबद्ध हुनुपर्ने पनि बताए ।

उनले अहिले सरकार राजनीतिक दलहरूसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिए । उनले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भस्र त्रुटि भएको समेत बताए ।

उनले सुरक्षा निकायले युवाहरूमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाए ।

उनले भने ‘सरकारलाई म आग्रह गर्न चाहन्छु । तपाईँहरूको प्रतिबद्धता विद्रोही शक्तिसँग हुनुपर्छ । उहाँहरूकै सरसल्लाहमा काम गर्नुपर्छ । कुनैपनि बहानामा पुराना शक्तिहरूसँग ढल्कने काम गर्नुभयो भने तपाईँहरूको पनि इतिहासले हिसाब गर्नेछ । हाम्रो सुरक्षा संयन्त्रको पनि गम्भीर कमजोरी देखियो । पहिलो कुरा त बल प्रयोग गरेर युवाहरूको हत्या गर्नु हुँदैनथ्यो । अर्को दिन सिंहदरबारसहित राज्यका अङ्गहरू जलिरहँदा एउटा दमकल समेत नदौड्नु, सरकारले पालेर राखेको सुरक्षा तमासे भएर बस्यो, त्यो के भइरहेको थियो । त्यसको उहाँहरूले पनि समीक्षा गर्नुपर्दछ । र पूरा भ्रष्टिकृत भइसकेका राजनीतिक दलहरू अब कुनै पनि बहानामा किन्तु परन्तु नगरीकन फेरि टाउको उठाउन दिनु हुँदैन । अब नयाँ र वैकल्पिक शक्तिहरू आएर नै देशको नेतृत्व लिनुपर्छ ।’

मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरू संस्थागत भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =