कर्मचारीहरूले कानुन देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्छ : उद्योगसचिव घिमिरे

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरूले कानुन देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै उनले जेन—जीको आन्दोलनको जगमा बनेको सरकार रहेको भन्दै अवसर, सुशासन र पारदर्शिता प्रमुख मागलाई सम्बोधन गर्नुपर्ने अवस्थामा ब्युरोक्रेसी कानुन देखाएर भाग्न नमिल्ने बताए ।

उनले अन्तरिम सरकारका सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै सीमाभन्दा बढी प्रतिबद्धता गर्दा भोलि झन् निराशा बढ्ने बताए । सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्ने भन्दै अन्तरिम सरकार आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताउँदै उनले लोकरिझ्याइँमा लाग्न नहुने बताए ।

सचिव घिमिरेले भने ‘लोकरिझ्याइँमा लाग्नुहुँदैन, जे गर्न सकिन्छ, त्यो मात्रै घोषणा गर्नुपर्छ । अहिले भौतिक क्षतिका साथै असुरक्षित महसुस भइरहेको विषय सम्बोधन गर्नुपर्छ । आधारभूत विषयमा अध्यादेश ल्याएरै भए पनि कानुनी सुधार गर्नुपर्छ । यसमा प्रतिबद्धता देखाउनुपर्छ ।’

युवाहरूमा पार्टटाइम जबको व्यवस्था गर्न नसक्दा पनि अहिलेको समस्या आएको भन्दै पढ्दै काम गर्ने परिपाटीको विकास गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =