कारागारबाट भागेका एमाले नेता टोपबहादुर रायमाझी फर्किए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी फेरि कारागार फर्किएका छन् ।

रायमाझी सोमबार साँझ स्वेच्छिक रूपमा काठमाडौंको सुन्धारा कारागार पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आन्दोलनको दिन कारागार परिसरबाट फरार भएका थिए । उनी पूर्वउपप्रधानमन्त्री समेत भइसकेका नेता हुन् ।

सुन्धारा कारागारका जेलर कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैँ आएर आत्मसमर्पण गरेका हुन् । ‘उहाँ सोमबार साँझ आफैं उपस्थित हुनुभएको हो,’ चापागाईंले भने, ‘हामीले पुनः कानुनी प्रक्रिया अनुसार थुनामा राखिसकेका छौं ।’

टेकनारायण पाण्डे अझै फरार

भुटानी शरणार्थी प्रकरणमै थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म कारागार फर्किएका छैनन् ।

कारागार प्रशासनका अनुसार पाण्डेलगायत अन्य फरारहरूलाई खोजी कार्य जारी छ । केही व्यक्तिहरूले आफैँ फर्किने जानकारी दिएको समेत चापागाईंले बताएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुन्धरा कारागारमा समेत अव्यवस्था सिर्जना भएको थियो । त्यही अवसरमा केही थुनुवा भाग्न सफल भएका थिए । रायमाझी पनि त्यही भीडको फाइदा उठाउँदै फरार भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =