बस सेवा डटकम: अग्रिम टिकटका लागि सारथि बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने

काठमाडौँ । यस पटकको दसैँमा यातायात व्यवसायीहरूले यात्रुहरूलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरूका लागि सारथि बनेको छ ।

बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरूले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताए ।

उनकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ ।

थापाले भने ‘अग्रिम टिकट हामीले खोलिसकेका छौँ । चितवन पोखरालगायतका ठाउँहरूमा गाडीहरू गइरहेको छ । गाडीहरू रोकिएका छैनन् भने धनगढी, महेन्द्रनगरमा बाटो बन्द भएर रोकिएको थियो, अहिले सुचारु भइसकेको छ । अग्रिम टिकट जाने मात्रै नभएर फर्किनका लागि समेत खुलाउँदैछौं । ७७ ओटै जिल्लाका लागि हामीले बुकिङ अनलाइनबाट खुलाएका छौँ । हामीसँग यो पटक ५० हजार जत्तिको सिट छ । तर बाटोका कारणले हामीले सोचेजस्तो टिकट गएको छैन । दिनमा लगभग १० हजारसम्म बुकिङ हुनसक्ने सम्भावना छ ।’

थापाकाअनुसार बस सेवालाई डिजिटलाइज गर्न महासंघबाट पूर्णरुपमा सहयोग रहँदै आएको छ । देशभरका करिब ९५ प्रतिशत यातायात समितिहरू बससेबा डटकममा आबद्ध भइसकेका छन् । बससेवा डटकमको आगामी योजना बसको मात्रै नभएर प्लेन, होटलहरुको समेत बुकिङ गर्नसक्ने व्यवस्था गर्न सकिनेछ ।

आगामी दिनमा नेपालको हरेक कुनाबाट अनलाइन टिकटको सुविधा दिने योजना रहेको थापाले बताउनु भयो । थापाकाअनुसार बस सेवा डटकमको सर्भर व्यवस्थापन बलियोसँग भएको बताउनु भयो । धेरैले अग्रिम टिकट अनलाइनबाट काट्दा सर्भर डाउन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सर्भरको क्षमता बढाइएको उहाँको भनाइ छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव वेगनाथ गौतमले बस सेवासँग सहकार्य गरेर बुकिङ खुलाउँदा धेरै सहज भएको बताए ।

उनकाअनुसार अहिले भौतिक रूपमा भन्दा पनि टिकट बुकिङ अनलाइनबाट धेरै हुने गरेको छ । यसले यात्रुलाई समेत धेरै सहज बनाएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव गौतमले भने ‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विगतदेखि नै हामी सबै देशभरका यातायात व्यवसायीलाई तपाईँहरूले प्रविधिको प्रयोग गर्नुस् भनेर भनेका छौँ । अनलाइन टिकट गर्न भनिरहेका छौँ । आफ्नो एप बनाउन पनि भनिरहेका छौँ । त्यसरी नै सेवा सञ्चालन गर्न भनिरहेका छौँ । अहिले देशभरि नै लगभग ६० प्रतिशत हाम्रा सबै सदस्यहरू अनलाइनमा गइसकेका छन् । कतिपय कम्पनीले आफ्नो कम्पनीका नाममा एप बनाएर अनलाइन टिकट दिइरहेका छन् । कतिपयले यो बस सेवा डटकमसँग सहकार्य गरेर गरेका छन् । आफ्नो एपसँग बससेवा डटकम लिङ्क गरेर यातायात व्यवसायीलाई सेवा दिइरहेको अवस्था छ । यसले अहिले हामीले भौतिक रूपमा अग्रिम बुकिङ खोल्ने र भौतिक रूपमा बुकिङ गर्नेको संख्या त्यति धेरै छैन । यो सबै अनलाइन सेवाले गर्दा नै हो ।’

यता, भौतिक रूपमा टिकट काट्ने यात्रुहरूलाई लक्षित गरेर काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कमा दैनिक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसमा प्रेसरहरू चेक गर्ने, ज्वरो नाप्ने सेवा दिइरहेको काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग सदस्य गौरव बोहोराले बताए ।

बोहोराले भने ‘सामान्य चेकजाँच गरिरहेका छौँ । प्रेसरहरू चेक गर्ने, ज्वरोहरू नाप्ने काम भइरहेको छ । दिनमा ४०/४५ जना बिरामीहरू आउने गर्नुभएको छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइरहेका छौँ ।’

विगतमा अनलाइन सेवा नहुँदा यात्रुहरूले घटस्थापनादेखि नै बसपार्कमा मध्यरातमा गएर लाइन बसीबसी टिकट काट्नुपर्थ्यो । जसकारण कष्टकर हुने गरेको थियो । यसपटक त्यो बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =