संविधान र संघीयता बचाउन राजीनामा दिइनँ : मुख्यमन्त्री सिंह

काठमाडौँ । मधेस प्रदेश सरकारले संविधान र संघीयताको रक्षा अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएको छ ।

संविधान दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायत नेताहरूले संविधानको कार्यान्वयन र संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे ।

जेन जी आन्दोलनपछि संविधान मिच्ने र संघीयता खारेज गर्ने चलखेल भएको भन्दै उनीहरूले यस्तो कार्य कदापि स्वीकार्य नहुने बताए । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जोगाउन सबै पक्ष उत्तरदायी बन्नुपर्नेमा जोड दिइन् ।

उनले जेनेजी आन्दोलनको नाममा मुलुकको संरचना ध्वस्त पार्ने र लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । उनले जेन जी पुस्ताका मागहरूलाई सम्बोधन गर्दै मुलुकलाई आर्थिक र सामाजिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिइन् । भण्डारीले लामो सङ्घर्षपछि बनेको संविधानलाई जनताको साझा दस्ताबेज भन्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मौलिक हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह पनि गरिन् ।

उनले भनिन् ‘यो संविधान निर्माणको क्रममा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरू योगदानलाई समेत सम्मान व्यक्त गर्न चाहन्छु । लामो संघर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्ताबेजको रूपमा रहेको नेपालको संविधानलाई मानिएको छ । संविधानमा केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य गरी तीन तहको शासन व्यवस्थाको परिकल्पना गरेको छ । यसले प्राकृतिक स्रोतसाधन, कृषि, वन लगायतको अधिकतम सदुपयोग गरी उत्पादनमुखी जनशक्ति निर्माण गर्नुपर्ने बाटोमा स्थिति रहेको छ । संविधानमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लाई समेत नागरिकको मौलिक हकको रूपमा उल्लेख गरिएको छ ।’

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयताको रक्षा गर्नकै लागि आफूले राजीनामा नदिएको स्पष्ट पारे । उनले २३ भदौमा विकसित घटनाक्रमका कारण आफूले राजीनामा दिने घोषण गरेको भएपनि यस्तो परिस्थितिमा जिम्मेवारीबाट भाग्न नहुने बताए । आन्दोलनपश्चात् सामाजिक सञ्जालमार्फत राजीनामाको संकेत दिएपनि संघीयता र संविधानको रक्षाकै लागि आफूले राजीनामा नदिएको बताए ।

उनले जेन जी आन्दोलनको नाममा मुलुकको ऐतिहासिक संरचना ध्वस्त पार्ने तथा लुटपाटमा संलग्नहरूलाई खोजेर कानुनी दायरामा ल्याउनु आवश्यक रहेको पनि बताए ।

उनले भने ‘मैले भदौ २३ गतेको आन्दोलन पश्चात् आफ्नो ज्यानभन्दा ठुलो यो पद होइन भन्दै राजीनामा दिने भनेर फेसबुकमा लेखेको थिएँ । सार्वजनिक सम्पत्ति मेरो नाउको सम्पत्ति होइन । सबै कुराको सुरक्षाको लागि त्यो दिन मैले राजीनामा दिन्छु भनेर फेसबुकमा पोस्ट हालेँ । अहिलेको परिस्थितिमा राष्ट्रपतिज्यूले राजीनामा नदिएकै कारण यो संविधान बचेको छ । अहिले हामीले जिम्मेवारीबाट भाग्ने होइन यो मिलेर यो संविधानको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । संघीयता र संविधानको रक्षकै लागि मैले राजीनामा नदिएको हो ।’

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जनतामा रहेको असन्तुष्टि संविधानमै टेकेर सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संविधान उल्ट्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले असन्तुष्टिहरू समाधान गर्न विद्यमान संविधान परिमार्जनमार्फत जानुपर्ने धारणा राखे ।

उनले भने ‘एकपटक संविधान निर्माण भएपछि संशोधनमार्फत त्यसलाई परिमार्जन गर्ने काम गरिन्छ । र आज देशमा संविधान नै उल्ट्याउने र देशलाई संकटको भुमरीमा धकेल्ने प्रवृत्ति सक्रिय भएको छ । मुलुकमा सिर्जित परिस्थितिको विद्यमान संविधानकै अधीन रहेर निकास दिनुपर्छ । ’

शुक्रवार मधेस प्रदेशसहित देशभर संविधान दिवस मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =