मुख्यमन्त्री सिंहले राजीनामा दिन मानेनन्, संसदीय दलले गर्‍यो कारबाही सिफारिस

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टीको मधेस प्रदेश संसदीय दलले उनलाई कारबाहीको सिफारिस गरेको छ ।

पार्टीका नेताहरूले मुख्यमन्त्री सिंहविरुद्ध पार्टीको केन्द्रीय समितिमा अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय लिएका हुन् ।

संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार, मुख्यमन्त्री सिंहसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको थियो । तर, जवाफ नदिँदा दलको बैठकले बुधबार कारबाहीको सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । यादवले थपे, ‘आजै हामीले मुख्यमन्त्री सिंहको कारबाहीको लागि पार्टीलाई पत्राचार गरेका छौँ ।’

२४ भदौको जेन–जी आन्दोलनको क्रममा सिंहले पार्टीको निर्देशनअनुसार सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । तर, त्यसपछि उनले औपचारिक राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको कदम चालेको हो ।

यसबीच, संसदीय दलले मुख्यमन्त्री सिंहसँगै सरकारमा रहेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =