सार्वजनिक भए प्रचण्ड, पेरिसडाँडामा कार्यकर्ताको स्वागत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातापछि सार्वजनिक भएका छन् ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गतेदेखि सेनाको उच्च सुरक्षा घेरामा रहेका दाहाल हिजोदेखि पार्टी सम्पर्कमा फर्किएका हुन् ।
उनको सचिवालयका अनुसार, दाहाल आज बिहान माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा पुगेका छन् । पार्टी मुख्यालय पुगेका प्रचण्डलाई वाईसिएल नेताहरू र युवाहरुको ठूलो समूहले स्वागत गरेको थियो ।
जेन–जी आन्दोलनको उग्र रूपले माओवादी केन्द्रको मुख्यालयमा तोडफोड र आगजनी भएको थियो । पार्टी मुख्यालयको भौतिक संरचना ठूलो मात्रामा ध्वस्त भएपछि दाहाल पार्टी गतिविधिमा सक्रिय भएका हुन् ।
यसअघि एमाले नेताहरु हिजो नै पार्टी मुख्यालय च्यासल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै सेनाको सुरक्षा घेराभित्रै रहेको जनाइएको छ । उनले केही दिन अझै सेनाको निगरानीमै बस्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ ।
जेन–जी आन्दोलनपछिको सन्दर्भमा प्रमुख दलका नेताहरू क्रमशः सार्वजनिक रूपमा देखिन थालेका छन् ।








