जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जानकारी दिएका छन् । साथै, सरकारले आगामी असोज १ गतेलाई शोक दिवसका रूपमा मनाउने निर्णय समेत गरेको छ ।

सरकारले मृतकका परिवारलाई राहतस्वरूप जनही १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसमध्ये १० लाख मृतकका परिवारलाई राहत स्वरूप र थप पाँच लाख अन्त्येष्टि तथा अन्य खर्चका लागि प्रदान गरिने छ । राहत वितरण गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट गरिनेछ ।

साथै, आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गरिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारले सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =