देशभर मनसुनी वर्षाको प्रभाव: सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले नेपालभर मनसुनी वर्षाको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रत्यक्ष प्रभावस्वरूप मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्यत्र थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी र मधेस प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले थप सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन तथा आवश्यक तयारी गर्न महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =