रवि लामिछानेको अपिल : ‘संयमित होऔं, आन्दोलनले राष्ट्रका सम्पत्तिमा क्षति पुर्‍याउनु हुन्न’

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले मुलुकमा भइरहेको जनआन्दोलनमा सहभागि सबै नागरिकलाई संयमित रहन अपिल गरेका छन् ।

लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित एक सार्वजनिक अपिल जारी गरेका छन् ।

अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूमाथि सजायको प्रक्रिया सुरु भइसकेको छ। उनीहरूले तीन पुस्ता लुटेर जोडेको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ र कानुनी कारबाही पनि यथाशीघ्र हुनुपर्छ ।’

उनले लुटेराहरूमाथि कठोर कारबाहीको माग गरे पनि जनताबाट सुरु भएको आन्दोलनले राष्ट्रका महत्त्वपूर्ण सम्पत्तिमा क्षति पुग्न नदिन सबैलाई संयमित रहन अनुरोध गरेका छन् ।

उनले राष्ट्रिय सुरक्षासँग जोडिएका प्रहरी, सुरक्षा निकाय र न्यायालयका दस्तावेजहरू अत्यन्त संवेदनशील भएकाले ती सुरक्षित राख्न आग्रह गरे । ‘यी दस्तावेजहरू नष्ट भए देशकै लागि गम्भीर क्षति हुनसक्छ,” उनले भने ।

लामिछानेले आन्दोलनलाई जेनजीको आन्दोलनको रूपमा चित्रण गर्दै भनेका छन्, ‘अब देशको नेतृत्व जेनजीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्नेमा म स्पष्ट छु ।’ उनले आफू सधैं नागरिक सर्वोच्चताको पक्षमा रहेको बताएका छन् ।

आफ्नो रिहाइबारे स्पष्ट पार्दै लामिछानेले कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै आफू कारागारबाट बाहिर आएको जनाएका छन् । उनले भने, ‘नागरिकको दबाबपछि सरकारले कानुनअनुसारको प्रक्रिया पुरा गरी पत्र थमाएपछि मात्रै म रिहा भएको हुँ । यद्यपि, म कानुनको सम्मान गर्दै आगामी कानुनी प्रक्रियाका लागि पूर्णतः तयार छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =