गगन थापाको घरमा ढुंगामुढा, स्थिति तनावपूर्ण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको कमलपोखरीस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।
सोमबारको हिंसात्मक प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आज बिहानदेखि प्रदर्शन झनै चर्किएको छ ।
जेनजीहरूको नेतृत्वमा भइरहेको आन्दोलन अहिले विभिन्न दलका शीर्ष नेताहरूको निवास लक्षित गरिँदै हिंसात्मक बन्दै गएको देखिन्छ । सोमबारको घटनाक्रमपछि आक्रोशित भीड मंगलबार बिहानैदेखि सडकमा उत्रिएको हो ।
यसै क्रममा थापाको घरअगाडि पुगेका प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन् । केही प्रदर्शनकारीले घरतर्फ आगजनी प्रयाससमेत गरेको स्रोतले जनाएको छ ।
हाल पनि प्रदर्शनकारीहरू घर वरपर झुप्पिएका छन् भने स्थिति तनावपूर्ण बनेको छ । सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसहित अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पनि गोली चल्दा दुई जना घाइते भएका थिए ।








