कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् ।

पछिल्ला घटनाक्रमप्रति आक्रोश व्यक्त गर्दै उनले नेपाली कांग्रेस यो परिस्थितिको न त साक्षी बन्न सक्छ, न त साझेदार नै बन्न सक्ने बताए ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत गम्भीर प्रतिक्रिया दिँदै लेखेका छन्, ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।’

उनले रातभर निद्रा नलागेको उल्लेख गर्दै देशभर आम नागरिक स्तब्ध र पीडामा रहेको जनाएका छन् । ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ,’ उनले लेखेका छन् ।

थापाले प्रधानमन्त्रीप्रति सिधा आरोप लगाउँदै तत्काल राजीनामा दिन आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =