इटहरीमा प्रहरीको गोली लागेर दुई जेनजी प्रदर्शनकारीको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध चर्किएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
मृतकको परिचय खुल्न बाँकी रहेको भए पनि उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले जनाएको छ ।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा घाइते भएका अर्का एक प्रदर्शनकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस क्रममा सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारसमेत घाइते भएका छन् । उनको गालामा चोट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।
इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
तर, प्रदर्शनकारी नहटेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








