इटहरी उपमहानगरपालिकामा जेनजीद्धारा आगजनी

काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र सरकारविरुद्ध जारी आन्दोलन चर्किंदै गएसँगै सुनसरीको इटहरीमा स्थिति तनावपूर्ण बन्दै गएको छ ।
सोमबार दिउँसो इटहरी उपमहानगरपालिकाको कार्यालयभित्र प्रदर्शनकारीले प्रवेश गरी आगजनी गरेका छन् ।
इटहरी उपमहानगरपालिकाका मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आन्दोलनकारीले आगो लगाएका हुन् ।
प्रहरीद्वारा भीड तितरबितर पार्न हवाइफायर गरिएको थियो तर प्रदर्शनकारी आक्रमक बनेपछि उनीहरूले कार्यालयमै तोडफोड र आगजनी गरेका स्थानीय स्रोतले जनाएका छन् ।
उपमहानगरपालिकाले आगो नियन्त्रणमा आउन नसकेको जनाएको छ भने दमकल परिचालन भए पनि प्रदर्शनका कारण काम गर्न कठिन भएको बताइएको छ । हिंसात्मक प्रदर्शनका कारण कार्यालय परिसरमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थिति थप जटिल बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । सुरक्षाको दृष्टिले स्थानीय बासिन्दालाई आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।








