नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गरौँ : मन्त्री पाण्डे

काठमाडों । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवारदेखि काठमाडौंमा शुरु भएको नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका आफ्ना कथा र गौरवलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
उनले अन्नपूर्ण, शंकर हिमाल र सगरमाथा जस्ता हिमश्रृंखलामा निहित ऐतिहासिक तथा सांस्कृतिक कथालाई समेत उजागर गर्न जरुरी रहेको बताए ।
उनले यस महोत्सवबाट नेपालको कला तथा सांस्कृतिक मेलालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालको पर्यटन प्रवद्र्धनमा नेपाल कला परिषद्को महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रशंसा गरे ।
पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सरकार क्रियाशील रहेको समेत मन्त्री पाण्डेको भनाइ छ ।








