व्यासको तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला । चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिङ्करमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ ।

गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्याएपछि टेलिफोन सेवा बन्द भएको हो ।

फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिङ्करीले बताए । गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको बर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए ।

व्यास गाउँपालिका–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए ।

व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, ‘गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ ।’ यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए । ‘सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ । समस्या समाधानको प्रयास भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =