भारत–रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई विशेष र विशेषाधिकार प्राप्त साझेदारी भन्दै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताएका छन् ।

सोमबार क्रेमलिनमा भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको द्विपक्षीय वार्तामा प्रधानमन्त्री मोदीले भारत–रुस सहकार्यले न केवल दुवै देश, तर सम्पूर्ण विश्वको शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्‍याउने बताए ।

“सबैभन्दा कठिन परिस्थितिमा पनि भारत र रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन्,” मोदीले भने, “हाम्रो घनिष्ठ सहयोग दुवै देशका जनताका लागि मात्र होइन, विश्वव्यापी शान्ति र स्थिरताका लागि पनि महत्त्वपूर्ण छ।”

अहिलेको भेटवार्ता अमेरिका र भारतबीचको व्यापार तनाव चुलिएको समय भएको हो। अमेरिकाले भारतीय सामानमा ५० प्रतिशतसम्म कर लगाएको छ भने, रुसबाट छुटमा तेल किन्दा भारतले २५ प्रतिशत जरिवाना तिर्नुपर्ने अवस्था छ ।

युक्रेन युद्धबारे बोल्दै मोदीले शान्तिका प्रयासलाई स्वागत गर्दै भने, “द्वन्द्वलाई सकेसम्म चाँडै अन्त्य गरी स्थायी शान्ति स्थापना गर्नुपर्छ। यो सम्पूर्ण मानवताको आह्वान हो ।”

उनले हालै भएको शान्ति पहलहरूलाई सकारात्मक बताउँदै सबै पक्ष रचनात्मक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले भारत–रुस सम्बन्धलाई अझ नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्दै डिसेम्बरमा हुन लागेको २३औँ शिखर सम्मेलनप्रति उल्लेखनीय आशा रहेको बताए। “एक अर्ब ४० करोड भारतीयहरू तपाईंको भ्रमणको प्रतीक्षामा छन्,” उनले पुटिनलाई सम्बोधन गर्दै भने ।

राष्ट्रपति पुटिनले पनि युक्रेन संकटमा भारत र चीनले गरेको शान्तिपूर्ण पहलको प्रशंसा गरे। उनले युक्रेनमा चलिरहेको युद्ध कुनै आक्रमणको परिणाम नभएर किएभमा पश्चिमी सहयोगीहरूको समर्थनमा भएको ‘कू’को नतिजा भएको दाबी गरे ।

“युक्रेनमा सङ्कट आक्रमणको कारण होइन,” पुटिनले भने, “यो पश्चिमी देशहरूले किएभमा गरेको हस्तक्षेपको नतिजा हो ।”

यसैबीच, चीनका राष्ट्रपति सी जिनपिङले पनि एससीओ शिखर सम्मेलनमा निष्पक्षता, न्याय र बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा आवाज उठाउँदै शीतयुद्ध मानसिकताको विरोधमा उत्रिनुपर्ने बताएका छन् ।

सीले भने, “हामीले दोश्रो विश्वयुद्धको सही ऐतिहासिक परिप्रेक्ष्यलाई अगाडि ल्याउनु छ। टकराव र बदमाशी अभ्यासको अन्त्य हुनुपर्छ ।”

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलन २०२५ ले विश्व राजनीतिमा बहुध्रुवीयता र शक्ति सन्तुलनको नयाँ चरण सुरु भएको सन्देश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =