निजामती विधेयक आजै संसद्‌मा पेस गर्ने तयारी, अवकाशको उमेर हदमा अझै रस्साकस्सी

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी गरिएको छ । अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यद्यपि, कर्मचारीको अवकाशको उमेर हदबाहेक अन्य अधिकांश विषयमा सहमति जुटिसके पनि यो एउटा विषयमा भने सत्तापक्ष र प्रतिपक्षबीच अझै रस्साकस्सी चलिरहेको छ ।

आज बिहानै ११:३० बजे विधायन व्यवस्थापन समितिको बैठक बसेर नमिलेका विषयमा सहमति जुटाउने प्रयास गरिने भएको छ । समितिकी सभापति दाहालका अनुसार, यदि सहमति जुटेमा आजै प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिनेछ ।

विधेयकमा सबैभन्दा ठूलो विवादको विषय कर्मचारीको अवकाशको उमेर हद बनेको छ । आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमा ५९ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था गर्न आग्रह गरेकी थिइन् । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका समितिका सदस्यहरूले भने प्रतिनिधि सभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेका छन् ।

प्रतिनिधि सभाबाट पारित विधेयकमा कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष उल्लेख छ । प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएर लागू भएको पहिलो वर्ष ५८ वर्ष, दोस्रो वर्ष ५९ वर्ष र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुने गरी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो ।

सामान्य प्रशासनमन्त्री न्यौपाने र मन्त्रालयका सचिव रविलाल पन्थले आइतबारको छलफलमा प्रतिनिधि सभाको व्यवस्थालाई स्वीकार गरिए आगामी तीन वर्षसम्म कर्मचारी भर्ना गर्न समस्या हुने तर्क गरेका थिए । यही विषयमा दुई घण्टा लामो छलफल भए पनि कुनै सहमति जुट्न सकेन । यसले गर्दा आज बिहानको बैठकले के निकास दिन्छ भन्नेमा सबैको चासो बढेको छ ।

राष्ट्रिय सभाको अन्य कार्यसूची
आजको राष्ट्रिय सभा बैठकमा अन्य महत्त्वपूर्ण कार्यसूचीहरू पनि रहेका छन् । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।

त्यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =