विधायन समितिले निजामति विधेयकमाथिको दफावार छलफल सक्यो

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामति सेवा विधेयकमाथिको दफावार छलफल सकेको छ ।
समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनसहित विधेयकमाथिको दफावार छलफल सकेको हो । दफावार छलफल सकिएपनि विधेयकमा रहेका कतिपय विवादित विषय टुंगो लागिसकेको छैन ।
नायव सुब्बाको खुला गर्ने र प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने, करार कर्मचारी र राजनीतिक गतिविधि लगायत विषयको टुंग्याउन बाँकी छन् । दफावार छलफल बोल्दै सांसदहरुले कर्मचारीको टे«ड युनियनलाई नियमन गर्न सकिने गरी स्थानीय तहका युनियनहरुलाई प्रदेश र प्रदेशका युनियनहरुलाई केन्द्रिय युनियनसँग जोड्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा बोल्दै राष्ट्रि सभा सांसद अञ्जान शाक्यले कर्मचारी संगठनलाई केन्द्रिय संगठनसँग आवद्ध हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सबै कर्मचारीहरुलाई समन्वय र सहकार्यमार्फत एकतामा बाध्ने गरी ऐन बनाउनुपर्नेमा उनको जोड छ । ‘केन्द्रिय कर्मचारीहरुको संगठन केन्द्रीय संगठनसँग आवद्ध हुनेगरी कानून बनाउनु उपयुक्त हुन्छ । नत्र तह तहका संगठनहरु भयो भने संगठनको एकआपसमा पनि समन्वय हुदैन । हामीले सबै कर्मचारीहलाई समन्वय र सहकार्यमार्फत एकतामा बाध्नेगरी ऐन बनाउनुपर्छ जस्तो लाग्छ’ उनले भनिन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद वेदुराम भुसालले ट्रेड युनियनलाई केन्द्रसँग आवद्ध गरेर व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।
उनले तह तहका कर्मचारीबीच समन्वय नभए अराजकता फैलने सम्भावना रहने भएकोले सबै तहका टे«ड युनियनलाई केन्द्रसँग जोड्न आवश्यक रहेको बताए । ट्रेड युनियनहरुको नियमनका लागि प्रदेशका युनियनलाई केन्द्रसँग जोड्नुपर्ने उनको तर्क छ ।
समितिले विधेयकमा सहमति हुन बाँकी विषयहरूमा छलफलमा उठेका विषयका आधारमा सामान्य प्रशासन र कानून मन्त्रालयलाई धारणा ल्याउन निर्देशन दिएको छ । टुंग्याउन बाँकी विषयबारे छलफल गर्न आजै दिउँसो २ बजेका लागि अर्को बैठक बोलाइएको छ ।








