चार विभागको शुल्क घटाउने सहमति विवादमा, त्रिवि स्ववियुले माग्यो आधिकारिकता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार केन्द्रीय विभागको शुल्क घटाउने सहमति विवादमा परेपछि त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्यसको आधिकारिकता स्पष्ट गर्न माग गरेको छ ।

स्ववियु अध्यक्ष दीपकराज जोशीले त्रिविका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) र त्रिविबीच भएको सम्झौतामा औपचारिकताको प्रश्न उठाएका हुन् ।

‘चारवटा विभाग कार्यक्रमबाट विभागमा परिणत भएपछि शुल्क घट्नु स्वाभाविक कुरा हो,’ स्ववियुले जनाएको छ, ‘तर कुनै शैक्षिक, वैज्ञानिक तथा वस्तुगत आधारबिना गरिएको सम्झौता भ्रम सिर्जना गर्नेमात्र भएको छ । सम्झौतामा हस्ताक्षर गर्ने व्यक्तिको अधिकार र जिम्मेवारी के हो भन्ने स्पष्ट हुनुपर्छ ।’

मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य, र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति केही दिनअघि भएको थियो ।

तर स्ववियु उक्त सहमतिको विधिवत प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै आएको छ । उनीहरूले शुल्क सम्बन्धी सूक्ष्म अध्ययन गर्न समिति गठन गर्न र छात्रवृत्ति सम्बन्धी निर्देशिका संशोधन गर्न माग गरेका छन् ।

स्ववियुका अनुसार हालको छात्रवृत्ति निर्देशिका अन्यायपूर्ण र विभेदकारी छ । ‘निःशुल्क छात्रवृत्ति प्रत्येक वर्ष एउटै विद्यार्थीलाई दोहोरिने प्रवृत्तिमा हाम्रो स्पष्ट असहमति छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

तीन दिनभित्र शुल्क पुनर्मूल्याङ्कन समिति गठन गरी ठोस पहल नभए आन्दोलनको श्रृङ्खला अघि बढाउने चेतावनी समेत स्ववियुले दिएको छ । ‘आन्दोलनबाट सिर्जना हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी त्रिवि प्रशासनले लिनुपर्नेछ,’ स्ववियुको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =