दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको परिचय खुल्यो, पिकअपका चालक पक्राउ

भद्रपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–८ स्थित बिरीङ पुलनजिक मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार सदस्य घाइते भएका छन् । सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको मारुती भ्यान एकआपसमा ठोक्किँदा उक्त हताहती भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटा रहेका छन् । उनी मारुती भ्यानका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ ।
दुर्घटनामा भ्यानमा सवार शिवसताक्षी नगरपालिका–७ कै ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन् । उनीहरू सबैको बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न मे १ च ५४४६ नम्बरको पिकअपका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।








