निजी विद्यालय सञ्चालकहरू कालोपट्टी बाँधेर सडकमा (तस्बिरहरू)

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानको विरोधमा निजी विद्यालय सञ्चालकहरुले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेनलगायत निजी विद्यालयका छाता संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका ‘१० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था’ र ‘गैरनाफामूलक’ भन्ने प्रावधानको विरोध जनाएका छन् ।
प्रदर्शनका क्रममा विद्यालय सञ्चालकहरुले विधेयक संशोधन नभए आगामी भदौ १२ गतेदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।
उनीहरुले शिक्षा क्षेत्रको स्थायित्वका लागि सरकारसँग संवाद गर्न तयार रहेको जनाए पनि माग सम्बोधन नभए संघर्षका कार्यक्रम अझ सशक्त बनाइने बताएका छन् ।
सरकारले हालै संसद्मा पेश गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकले निजी क्षेत्रको भविष्य अन्योलमा पार्ने उनीहरुको आरोप छ । यसअघि पनि विभिन्न शिक्षा सम्बन्धी नीतिहरूको विरोधमा निजी क्षेत्रले आन्दोलन गर्दै आएको थियो ।









