सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी, अब ऐतिहासिक घरबाटै राजनीतिक संघर्ष

काठमाडौं । नेकपा (एमाले) को आन्तरिक राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँमा एक सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् । राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि राजनीतिक गतिविधिमा सक्रिय हुने चाहना राखेकी भण्डारीको यो कदमलाई उनको राजनीतिक पुनरागमनको एक महत्वपूर्ण र सांकेतिक सुरुवातको रूपमा हेरिएको छ ।

काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको उक्त कार्यालयलाई औपचारिक रूपमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । यद्यपि, भण्डारी निकट नेताहरूले यसलाई उनको राजनीतिक गतिविधि सञ्चालन गर्ने मुख्य केन्द्र र सम्पर्क कार्यालयकै रूपमा प्रयोग गरिने बताएका छन्। 

जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउने उद्देश्यले गठित ७५ सदस्यीय समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने संरक्षक स्वयं पूर्वराष्ट्रपति भण्डारी छिन् । संयोजक पौडेलका अनुसार, आज दिउँसो २ बजे भण्डारीले उक्त कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सतहमा समितिमार्फत वर्षभरि ‘जनताको बहुदलीय जनवाद (जबज)’ र मदन भण्डारीबारे विमर्श कार्यक्रम गर्ने बताइए पनि यसको भित्री उद्देश्य फरक रहेको बुझिएको छ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने र उनको पार्टी सदस्यतासमेत नवीकरण नगर्ने निर्णय गरेपछि बदलिएको परिस्थितिमा यो कार्यालय खोलिनुलाई अर्थपूर्ण मानिएको छ । भण्डारी पक्षले यही समितिको आवरणमा एमालेभित्र आफ्नो वैचारिक र राजनीतिक अन्तरसंघर्षका गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ ।

ऐतिहासिक घरबाटै राजनीतिक संघर्षको तयारी
यो कार्यालय रहेको घरको आफ्नै राजनीतिक र ऐतिहासिक महत्व छ । नेताहरूका अनुसार, जननेता मदन भण्डारीले २०४८ सालको आम निर्वाचनको अभियान यही घरबाट सञ्चालन गरेका थिए । पछि, भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरलाई आफ्नो चुनावी अभियानको केन्द्र बनाएकी थिइन् ।

अहिले तीन दशकपछि फेरि त्यही ऐतिहासिक घरलाई भाडामा लिएर भण्डारीले आफ्नो राजनीतिक पुनरागमन र पार्टीभित्रको अन्तरसंघर्षको तयारी थालेकी छिन् । यो घटनाक्रमले नेकपा (एमाले) भित्रको शक्ति सन्तुलन र भावी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =