संसदीय समितिमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल हुँदै

काठमाडौँ । सङ्घीय संसद्‌मा आज दुई महत्वपूर्ण संसदीय समितिका बैठक बस्दैछन् । कानून निर्माणको प्रक्रियालाई गति दिने क्रममा आज अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आयोजना गरिएको हो ।

दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यो विधेयक मुलुकको समग्र आर्थिक विकासका लागि परम्परागत वित्तीय स्रोतको कमीलाई पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा लगानी जुटाउने उद्देश्यले ल्याइएको हो ।

विधेयकले ऋणपत्र, स्वपूँजी कोष र अन्य वित्तीय उपकरणमार्फत विकासका लागि नयाँ स्रोतहरू परिचालन गर्ने लक्ष्य राखेको छ । यसले विशेषगरी ठूला पूर्वाधार परियोजना, रोजगारी प्रवर्द्धन र दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली वा गैरआवासीय नेपालीको लगानीमा विप्रेषण कोष (रेमिट फन्ड) स्थापना गर्ने जस्ता प्रावधान पनि विधेयकमा समेटिएका छन् ।

त्यसैगरी, दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानून व्यवसायी परिषद् (दोँस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल हुनेछ । यो संशोधन विधेयकले कानून व्यवसायीहरूको छाता संगठन नेपाल कानून व्यवसायी परिषद्लाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

विधेयकमा कानूनी शिक्षालाई स्तरीय बनाउन पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने, कानून व्यवसायीहरूका लागि निरन्तर कानूनी शिक्षाको प्रबन्ध गर्ने र परिषद् अन्तर्गत ‘लयर्स एकेडेमी’ स्थापना गर्ने जस्ता महत्वपूर्ण व्यवस्थाहरू प्रस्ताव गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =