शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को आरम्भ

काठमाडौँ । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात भएको छ ।
आज मेडिसिटि अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक शुभारम्भ गरिएको हो ।
व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा रु।२० लाख सम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सीमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत रु। २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहने कम्पनीले जनाएको छ ।
यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससंग आबद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमाकं रकमको १० प्रतिशत रकम (अधिकतम रु. १ लाख सम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिने बताइएको छ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिने बताइएको छ ।
कम्पनीका अनुसार शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिन सम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोस्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा संरक्षण प्राप्त हुन्छ । साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा संरक्षण प्राप्त गर्न सकिने बताइएको छ ।
यसका साथै शिखर स्वास्थ्य सुरक्षा बीमा अन्तर्गत दाबी नपरेको अवस्थामा बीमालेख नवीकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकोले दीर्घकालीन रूपमै यस बीमा योजनाबाट बिमितहरुले लाभ प्राप्त गर्न सकिन्छ ।
यस बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरिकहरूले समेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।








