काठमाडौं नेशनल मेडिकल कलेजमा ब्रोन्कोस्कोपी, इन्डोस्कोपी र क्लोनोस्कोपी सेवा सुरु

काठमाडौं । काठमाडौंको अनामनगरस्थित काठमाडौं नेशनल मेडिकल कलेजले ब्रोन्कोस्कोपी, इन्डोस्कोपी र क्लोनोस्कोपी सेवा सुरु गरेको छ । शुक्रबारदेखि औपचारिक रूपमा नयाँ सेवा सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ ।
इन्डोस्कोपी सेवामा डा. जयन्त शाह, डा. चन्द्रिका शाहा र डा. ध्रुवले सेवा प्रदान गर्नेछन् भने ब्रोन्कोस्कोपीमा डा. नुर अन्सारीले सेवा दिने कलेजका सञ्चालक तथा प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारीले जानकारी दिए ।
‘हामीले सेवा विस्तारको क्रममा नयाँ मेसिन ल्याएका छौँ,अब अस्पतालको सेवा थप प्रभावकारी बन्नेछ,’ अन्सारीले भने, ‘आगामी दिनमा थप सेवा विस्तारका लागि काम भइरहेका छन् ।’
उनका अनुसार अस्पतालमा छिट्टै अन्य आधुनिक उपकरणहरू थपिने छन् । अस्पताल निर्देशक दिलिप शाहले अस्पतालका सेवा विस्तारका लागि अस्पतालको सम्पूर्ण टिम नै सक्रियरुपमा लागेको बताए ।
निर्देशक शाहले काठमाडौंको केन्द्रमै रहेको यो अस्पतालले सुलभ र प्रभावकारी सेवा दिने लक्ष्य राखेको बताए ।
हाल कलेजमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको एनआइसीयू (नवजात शिशुका लागि) र १६ बेडको आकस्मिक सेवा (इमर्जेन्सी वार्ड) सञ्चालनमा छन् ।
१७४ बेड क्षमताको संरचना तयार भए पनि हाललाई १०० बेडको स्वीकृतिसहित सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।









