कुमारी बैंकका ग्राहकलाई दिल्लीको अपोलो अस्पतालमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज र सुलभ बनाउने उद्देश्यले भारतको प्रतिष्ठित इन्द्रप्रस्थ अपोलो अस्पतालसँग एक महत्वपूर्ण सम्झौता गरेको छ । नयाँ दिल्लीमा अवस्थित यस अत्याधुनिक अस्पतालमा उपचार गराउँदा कुमारी बैंकका ग्राहकहरूले अब १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक महत्वपूर्ण हिस्साको रूपमा लिएको बताउँदै बैंकले यो सम्झौता गरेको हो । सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकहरूले इन्द्रप्रस्थ अपोलो अस्पतालबाट प्रदान गरिने बहिरंग (Outpatient) तथा अन्तरंग (Inpatient) दुवै सेवाहरूमा यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यसले भारतमा गएर उच्चस्तरीय स्वास्थ्य उपचार गराउन चाहने बैंकका हजारौं ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने विश्वास गरिएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा, स्वदेश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रयासस्वरूप यो सम्झौता गरिएको बैंकले जनाएको छ । इन्द्रप्रस्थ अपोलो अस्पताल, सन् १९९६ मा स्थापित, एक बहु-विशेषता तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त स्वास्थ्य संस्था हो, जहाँ विभिन्न जटिल रोगहरूको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

देशभर रहेका ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सुरक्षित, भरपर्दो र उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले बदलिँदो समय र ग्राहकको आवश्यकतालाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो सम्झौताले गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकहरूको पहुँचलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =