एकीकृत समाजवादीद्वारा पूर्णप्रेस स्वतन्त्रता कायम गर्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिडिया काउन्सिल विधेयकमा पूर्णप्रेस स्वतन्त्रताका साथै मौलिक हकहितको अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्न माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले संविधानप्रदत्त अधिकार कुण्ठित गर्न खोजिएकाले उक्त विधेयक संशोधन गर्नुपर्ने माग गरेको हो ।
बैठकले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने, वन क्षेत्रबाट छुटाउने, जथाभावी वितरण गर्नेगरी सरकारले अगाडि बढाएको भूमि विधेयक तत्काल खारेज गरी सुकुम्बासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने गरी ल्याउन आग्रह गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनकाअनुसार शिक्षकसँग गरिएको सहमति कार्यान्वयन गर्नेगरी सामुदायिक विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन तथा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग पनि गरेको छ ।
पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका कार्यप्रगतिको समीक्षा गरेको बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई तेस्रो वरियताक्रमको जिम्मेवारी प्रदान गरेको, तीन जना पोलिटब्यूरो तथा नौ जना केन्द्रीय सदस्य मनोनित गरेको अर्यालले जानकारी दिए ।
समाजवादी मोर्चाले गरेका कामको प्रभावकारिताको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानलगायत विषयमा आजको बैठकमा छलफल भएको बताउँदै उनले पार्टीको आगामी रणनीतिका विषयमा समीक्षा भएको उल्लेख गरे ।








