मुलुकमा प्राप्त उपलब्धि संघीयताका कारण सम्भव भएको हो : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मुलुकले प्राप्त गरेका उपलब्धिहरू संघीयताको कारणले सम्भव भएको बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । संघीयताबारे नकारात्मक व्याख्या भइरहेको भएपनि वास्तविकता त्यसको ठिक विपरीत रहेको उनको भनाइ छ । उनले सात वटा प्रदेशहरूले नेपालको पूर्वाधार विकासको आधार तयार गरिरहेको भएपनि संघीयताको कार्यान्वयनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिएको बताए ।
उनले संघीय सरकारलाई नीति र कानुन निर्माणको निकायका रूपमा, प्रदेश सरकारलाई विकासको संवाहकका रूपमा र स्थानीय सरकारलाई जनसेवामा प्रत्यक्ष संलग्न निकायका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।
उनले भने ‘अहिले संघीयतासम्बन्धीका बहसहरू नकारात्मक ढंगले व्याख्या विश्लेषण पनि गर्ने गरिएको छ । देशमा नकारात्मकता फैलिइएको संघीयताका कारणले हो कि भन्ने चर्चा समेत गर्ने गरिएको छ । यो होइन । हामीले जे जति परिणाम र सफलता हामीले निकाल्न सफल भएका छौँ । त्यो सबै संघीयताको कारणले हो । राज्य पुनः संरचनाका कारणले हो । संसारमा नेपालभन्दा साना देशहरू पनि संघीयतामा छन् । संसारकै सबैभन्दा ठुलो देश रुसजस्ता देशहरू पनि संघीयतामा छन् । त्यसैले यो भूगोलले निर्धारण गर्ने कुरा पनि होइन । नेपालको पूर्वाधार विकासको आधार यी सात वटा प्रदेशले दिइराखेको छ भन्ने कुरा म राख्न चाहन्छु । तर संघीयता कार्यान्वयनमा अहिलेसम्म हामीले धेरै सफलता हासिल गर्न सक्नुपर्थ्यो । तर अपेक्षाकृत रूपमा सफलता प्राप्त हुन सकेका छैनन् । संघीय सरकारलाई कानुन र नीति निर्माणको रूपमा लिने र प्रदेश सरकालाई विकासको संवाहक तथा स्थानीय सरकारलाई जनसेवासँग जोड्नुपर्ने हुन्छ । यस रूपमा हामीले लिन सकेनौँ ।’
उनले संघीयताको सफल कार्यान्वयन गर्न सके मुलुकको आर्थिक विकास र समृद्ध धेरै टाढा नरहेको जिकिर गरे ।








