सुन्धाराको ‘धरहरा टपरी म:म’ लाई दुई लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित चर्चित ‘धरहरा टपरी म:म’ लाई खाद्य स्वच्छतामा गम्भीर लापरबाही गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरको अनुगमन टोलीले बिक्रीका लागि तयार पारिएको म:ममा धातुको औँठी फेला पारेपछि उक्त कारबाही गरिएको हो ।

महानगरपालिकाको कृषि तथा खाद्य विभागले गरेको नियमित बजार अनुगमनका क्रममा उक्त रेस्टुरेन्टको खाद्य पदार्थको गुणस्तर जाँच गर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको तथ्य फेला परेको थियो । म:म जस्तो लोकप्रिय खाद्य परिकारमा मानव स्वास्थ्यलाई हानि पुऱ्याउन सक्ने बाह्य वस्तु भेटिएपछि तत्काल कारबाही प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार ‘धरहरा टपरी म:म’ ले पटक-पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै आएको थियो । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले भने, ‘नियमित अनुगमनका क्रममा बिक्रीका लागि तयार म:ममा धातुको औँठी भेटियो र समग्र खाद्य पदार्थको गुणस्तर पनि मापदण्डअनुरूप थिएन ।’

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम सात दिनभित्र तोकिएको बैंकमा जम्मा गरी सोको जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तरका सबै मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न पनि सचेत गराइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =