ब्रेकिङः एमबीबीएस र बीडीएसको सिट संख्या वृद्धि गर्ने निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएस कार्यक्रमका लागि सिट संख्या बढाउने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले सिट संख्या वृद्धि गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार, हालसम्म एक सय सिटको सीमा रहेको एमबीबीएसको सिट संख्या १३० सम्म पुर्याइनेछ भने बिडिएसको सिट संख्या ५० बाट बढाएर ६० पु¥याइनेछ ।
बैठकमा सहभागी एक आयोग सदस्यले पूर्वाधार, जनशक्ति (फ्याकल्टी) लगायतका मापदण्ड पुरा गरेका मेडिकल कलेजहरूलाई मात्रै सिट संख्या वृद्धि गरिने जानकारी दिए । उनका अनुसार, ‘मापदण्डहरू पूरा भएका कलेजलाई मात्रै सिट बढाएर दिने निर्णय भएको हो ।’
सबैभन्दा बढी १३० सिट पाउने कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, र कलेज अफ मेडिकल साइन्सेस परेका छन् । यस्तै, पोखरास्थित मणिपाल शिक्षण अस्पतालले १२० सिट पाएको छ ।
यता, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी भने सिट संख्या र शुल्क नबढाउन पटक–पटक चेतावनी दिँदै आएका छन् । उनले निजी मेडिकल कलेजमा व्यापारीकरण बढ्ने भन्दै सरकारको निर्णयप्रति आलोचना गर्दै आएका छन् ।









