अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ : प्रकाशशरण महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।

उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताए ।

आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धीमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरू सबल हुने गरेको बताए ।

नेपालमा अनेक बहानामा विदेशीहरूसहित त्यहाँ रहेका नेपालीहरूलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ । सांसद महतकाअनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यथापनका लागि करारमा विदेशीहरू आएर त्यसलाई ट्र्याकमा ल्याएका थिए । त्यसपछि नेपालीहरूले नै चलाए । त्यसरी नै सरकारी निकायहरूमा विदेशीहरू भित्र्याएर कम्पनीहरूलाई माथि उठाउन सकिने उनको भनाई छ ।

पूर्वअर्थमन्त्री महतले भने ‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबायाँ गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रबन्ध गर्न खोजिरहेका छौँ ।’

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताए । उनकाअनुसार वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रिन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =