रास्वपाको आरोप: रविविरुद्ध न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीको कार्यकक्षमा लेखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन् । ‘न्यायालयमा उहाँको हस्तक्षेपबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइसकेको छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको पेशी चढेको दिन गृहमन्त्रीज्यूकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको समाचार छरपस्ट छन्’ उनले भनिन् ।
उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा न्यया परिषद्मा परेको उजुरी तयार पारिएको र सो उजुरीको प्रतिलिपि सचिवालयबाट पठाइएको समाचार सार्वजनिक भएको उल्लेख गर्नि । डा. कार्कीले न्याय परिषद्मा उजुरी दर्ता भएपछि स्वतन्त्र न्यायको सम्भावनाबारे प्रश्न उठाइन् ।
उनले भनिन्– ‘पेशी चढेकै दिन यसरी न्याय परिषद्मा उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय ? कानून जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ । केही व्यक्तिहरुले मन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाउनु भएकै हो । यसबारे म सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले गृहमन्त्री लेखकका आफ्नै मानकले पनि उहाँमा नैतिकता जाग्न नसकेको बताइन् ।








