रास्वपाको पदाधिकारी हेरफेर अद्यावधिक : कविन्द्र बुर्लाकोटी महामन्त्री, मनिष झा प्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भएको पदाधिकारी हेरफेरलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको नयाँ सूची सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले रास्वपाले गत असार ७ गते गरेको निर्णयका आधारमा पदाधिकारीको नयाँ संरचना अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको अभिलेखअनुसार अब रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् भने प्रवक्ताको जिम्मेवारी मनिष झाले पाएका छन् ।
पार्टीमा सहमहामन्त्रीको रुपमा भने अहिले एक मात्र व्यक्ति रहेका छन् । सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुँदा अब उनी केवल केन्द्रीय सदस्यका रुपमा रहेका छन् ।
नयाँ सूचीमा योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे पनि केन्द्रीय सदस्यका रुपमा समावेश छन् ।
यसअघि निर्वाचन आयोगले रास्वपामा पदाधिकारी हेरफेर नभएको जानकारी गराएपछि तत्कालीन महामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतले मंगलबार उनको रिट खारेज गर्दै आयोगको निर्णय सदर गरेको छ ।











