एशियन थाइ फुड्सको आईपीओ निष्कासन प्रबन्धकमा हिमालयन सेक्युरिटीज नियुक्त

काठमाडौं । देशकै अग्रणी नुडल्स तथा स्न्याक्स उत्पादक कम्पनी एशियन थाइ फुड्स लिमिटेडले आगामी प्रारम्भिक सार्वजनिक निष्कासनका लागि हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
सो सम्झौतामा कम्पनीका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठबीच औपचारिक हस्ताक्षर भएको हो । कार्यक्रममा एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थिति थियो ।
एशियन थाइ फुड्स, जसले रमपम, टुपिएम र प्रिती जस्ता लोकप्रिय ब्रान्डमार्फत नेपाली बजारमा बलियो उपस्थिति जमाइसकेको छ, अहिले ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ । विराटनगर र तौलिहवामा रहेका अत्याधुनिक उत्पादन एकाइबाट उत्पादित वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा समेत उच्च मागमा छन् ।
सम्झौता पछि बोल्दै प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘हिमालयन सेक्युरिटीजसँगको सहकार्यले हाम्रो पुँजी बजार प्रवेशलाई सहज बनाउने विश्वास लिएको छौँ । यसले नवप्रवर्तन र विश्वव्यापी विस्तारमा थप लगानी गर्न मद्दत पु¥याउनेछ ।’
आईपीओको समयरेखा, सेयर दर, र बाँडफाँटका विस्तृत विवरण चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।








