लन्डनबाट फर्किएका युवाको ‘स्केट किङडम’ : कति सुरक्षित ?

काठमाडौँ । वीरगन्जका सुनिल दास सानैमा बुबासँग भक्तपुर आएका थिए । उनका बुबाले मिठाइ पसल खोलेर भक्तपुरमै व्यवसाय सुरु गर्नुभएपछि उनको पढाई पनि यतै भयो । त्यसैले उनलाई झट्ट हेर्दा तराईका जस्तो देखिए पनि उनको लवजमा भने नेवारीपन भेटिन्छ ।
दासलाई सानैदेखि खेलकुदमा रुचि थियो । त्यसैले विद्यालयमा हुँदा उनी फुटबल र टेबल टेनिस धेरै खेल्थे । एकदिन उनी साथीहरूसँग भक्तपुरको नयाँठिमीस्थित डाइनामिक स्केट क्लबमा पुगे । सानैदेखि बिजनेस माइन्ड भएका दासलाई त्यसपछि भक्तपुरमै स्केट क्लब सञ्चालन गर्न मन लाग्यो ।
त्यसबेला उनी भरखरै बैंगलोर युनिभर्सिटीबाट डिग्री पुरा गरेर १ वर्ष जति लन्डनमा काम गरी नेपाल फर्किएका थिए । उनले ‘नेपालमै केही गरौँ न’ भन्ने सोचले स्केट व्यवसाय सुरु गरेको मकालुखबरसँगको कुराकानीमा बताए । उनले भने ‘म बिजनेस लाइनबाटै हो । पढाई पनि म्यानेजमेन्ट हो । बाहिर पढी रहेको मान्छे यहाँ आएर केही गरौँ भनेर सुरु गरेको । मैले १ वर्ष जति चाहिँ लन्डनमा काम गरे । त्यसपछि यहाँ आएर केही गरेर जान्छु भन्ने सोचका साथ सुरु गर्या हो यो ।’
दासले अलि फरक शैलीमा भक्तपुरमै स्केट क्लब सुरु गरौँ न भन्ने सोचका साथ यस व्यावसायिक यात्रालाई अगाडि बढाएको जानकारी दिए । उनी नगरबाहिरका भएकाले पनि यो व्यवसाय सुरु गर्न उनका लागि सहज थिएन । उनले जग्गा भाडामा लिएर स्केट क्लब सञ्चालन गर्न धेरै गाह्रो भएको अनुभव सुनाए । ‘म नगरबाहिरको भएकाले गर्दा पनि यो व्यवसाय सुरु गर्न धेरै गाह्रो भयो । जग्गा पास गर्न चाहिँ एक वर्ष चाहिँ कुर्नै पर्यो मैले,’ उनले भने ।
स्केट व्यवसाय सञ्चालनका लागि सङ्घर्षको समय चलिरहेकै बेला उनीसँग दुई साथीहरू पनि जोडिन पुगे । त्यसपछि दासकै आइडियामा उनीहरू मिलेर अघि बढे । आफ्नो सङ्घर्षको समयलाई सम्झँदै दास भन्छन् ‘पहिले मैरै आइडिया थियो यो । उहाँहरू पछि जोडिनु भएको हो । स्ट्रगलिंग फेजमा जोडिनु भएको हो । अड्किँदा अड्किँदै भेट्दै भेट्दै आएका हौँ ।’
दासले सुरुमा ‘स्केट किङडम’ सञ्चालन गर्नका लागि करिब ५० लाख खर्च हुने अनुमान लगाएका थिए । तर बनाउँदै जाँदा ८० लाख खर्च भएको उनी बताउँछन् । उनले स्केट पश्चिमी संस्कार भएकाले धेरै मानिसहरूलाई यसबारे ज्ञान नहुने बताए । उनले स्केट गर्दा लगाउने जुत्ताको मूल्य ७ देखि ८ हजारसम्म पर्ने बताए । उनी भन्छन् ‘स्केट गर्दा लगाउने जुत्ता यहाँ यत्तिकै पसल पसलमा पाउन त गाह्रो छ । चाइनासँग डिलिङ गर्ने, डिलरहरूसँग लिनुपर्छ । एक जोर जुत्ताको लगभर ७ देखि ८ हजार लाग्छ ।’
उनले लामो समयदेखिको आफ्नो सपना यसरी पूरा हुँदा एकदमै खुसी महसुस भइरहेको सुनाए । यस कार्यलाई अगाडि बढाउन परिवारको जहिल्यै समर्थन रहेको उनले जानकारी दिए । साथै आगामी ३, ४ वर्ष भित्रमा लगानी उठाउने आफूहरूको योजना रहेको उनले सुनाए । ‘स्केट किङडम’ मार्फत धेरै मानिसहरूलाई स्केट सिकाएर भक्तपुरलाई एक ‘स्पोर्ट हब’ बनाउने उद्देश्य रहेको पनि उनले स्पष्ट पारे । भने ‘हेरौँ अब, के हुन्छ, कस्तो हुन्छ ।’
उनी ‘स्केट’ एक खेल भएको बताउँछन् । स्वास्थ्यका लागि पनि खेल अत्यावश्यक रहेको उनको भनाई छ । उनी स्वयमले पनि व्यवसाय सुरु गरेपछि मात्रै स्केट राम्ररी सिकेको जानकारी दिए । सुरुमा स्केट सिक्दाको आफ्नो अनुभव साझा गर्दै दासले भने ‘ मैले आफैले सुरु गरेपछि मात्रै स्केट सिके । पहिले सिक्दा, अलिअलि त लडिन्छ तर बिस्तारै सिक्दै जान्छौँ ।’
दासले बिस्तारै खेल्दा चोटपटक नलाग्ने बताए । उनले हाहा हुहु गर्दै खेल्दा ठुलो हुलमा नियन्त्रण गर्न गाह्रो हुने र चोटपटक लाग्न सक्ने बताए । उनले अहिलेसम्म स्केट किङडममा त्यस्तो अवस्था नआएको र त्यस्तो अवस्था आउन नदिनका लागि ३ जना ट्रनेरहरु राखिएको जानकारी दिए । ‘हामी चाहिँ बीचमा ट्रेनरहरु राख्दिन्छौँ । अनि उहाँहरूलाई नै कन्ट्रोल गर्न दिन्छौ,’ दासले भने ।
उनले ग्राहकहरूको सुरक्षाका लागि हेलमेटको पनि व्यवस्था भएको जानकारी दिए । उनका अनुसार विद्यालय छुट्टी भएको बेला र शुक्रवार– शनिवार चाहिँ स्केट खेल्नेहरूको हुलै लाग्ने गर्छ ।
उनले स्केट किङडम बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्मै खुल्ला रहने जानकारी दिए । दासले केही नौलो सिक्न चाहने मानिसहरूका लागि स्केट एकदमै राम्रो खेल भएको बताए । ‘केही नौलो सिक्न चाहनुहुन्छ भने आउनुहोस् । हामीसँग सिकाउने टिमहरू छन् । नआएको कुराहरू सोध्नु, ठुलो ठाउँ छ,’ उनले भने ।
दास फेरि आफ्नो पढाइलाई निरन्तरता दिन फेरि विदेशै जाने तयारीमा छन् । उनले सबैको आर्थिक अवस्था एकैखालको नहुने भन्दै ‘सरकारले काम दिन सक्यो भने नेपाल बस्नु नत्र रोजगारीका लागि विदेश जानु तर पछि नेपालै फर्कनु’ भन्ने सल्लाह दिन्छन् ।








