अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत हुन १०५ वटा आवेदन परेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत हुन १०५ वटा आवेदन परेको जानकारी दिएका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो जानकारी दिएका हुन् । उनले आवेदन परेकामध्ये योमरीलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गरेको बताए । उनकाअनुसार गतवर्ष मन्त्रालयले अभौतिक सम्पदा सम्बन्धी कार्यविधि तयार गरेको थियो । सोही कार्यविधिअनुसार २०८१ को चैत १५ गतेसम्म अभौतिक सम्पदालाई सूचिकृत गर्नको आवेदन माग गरेको मन्त्री पाण्डेले जानकारी दिए ।

छोटो अवधिमा नै १०५ वटा आवेदन परेको उनको भनाई छ । मन्त्रालयले तयार पारेको मापदण्डअनुसार सबै मापदण्ड पूरा गर्ने नेवारी समुदायको सबैभन्दा महत्त्वपूर्ण खानेकुरा योमरीलाई हप्ता मात्रै स्वीकृत गरिएको र अरू निवेदनमाथि पनि छानबिन भइरहेको उनले बताए ।

मापदण्ड पूरा गर्नेलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत गर्दै जाने उनले जानकारी दिए । मगर समुदायको भूमे पर्वले पनि आफूलाई सूचिकृत गर्नको लागि आवेदन दिएको उनको भनाई छ । त्यस्ता पर्व, भेषभुषा र खानपान सम्बन्धित वस्तुहरूको सूचिकृतको लागि मन्त्रालयमा आवेदन गरेको उनले बताए ।

उनले भने ‘गतवर्ष अभौतिक सम्पदा सम्बन्धी कार्यविधि हामीले तयार गरेका छौँ । चैत १५ गतेसम्म अभौतिक सम्पदालाई सूचिकृत गर्नको लागी मन्त्रालयले कार्यविधिलाई टेकेर आवेदनहरू आह्वान गरेका थियौँ । २/३ महिनाको थोरै समयभित्र १०५ वटा आवेदन परेको छ, अभौतिक सम्पदा सूचिकृत गर्नको लागि । हामीले कार्यविधिको सबै मापदण्ड पूरा गर्नेगरि अहिलेसम्म योमरीलाई स्वीकृति दिएका छौँ । नेवार समुदायमा प्रख्यात खानेकुरा, स्वस्थ खानेकुरा उसले सबै मापदण्ड पूरा गरेर गएको हप्ता मात्रै त्यसलाई स्वीकृत गरेका छौँ । अरू परेका निवेदनमाथि पनि हामी हेर्दैछौँ । जसजसले आफ्नो मापदण्ड पूरा गर्दै जान्छ, जस्तो पर्वहरू भुमे मगर समुदायमा हुने, भुमे पर्वले पनि आफूलाई सूचीकृत गर्नको लागि आवेदन दिएको छ । त्यस्ता पर्वहरू धेरै छन् । भेषभुषा सम्बन्धित, खानपान सम्बन्धित कुरा पनि छ ।’

उनले पुर्खाहरूले आफ्नो सीप र दक्षताको प्रयोगबाट निर्माण गरेका विभिन्न सांस्कृतिक दृश्य तथा भौतिक सम्पदालाई आगामी पुस्ताको लागी हस्तान्तरण गर्नको लागी यसको संरक्षण आवश्यक रहेको बताए । भौतिक सम्पदालाई जीवन्तता प्रदान गर्न परम्परागत जात्रा, पर्व, भाषा, गीत, संगीत, कला, सीप, ज्ञान आदी जस्ता अदृश्य अभौतिक सम्पदाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

उनले भने ‘पुर्खाहरूको आफ्नो सीप र दक्षताको प्रयोगबाट निर्माण गरेका विभिन्न सांस्कृतिक दृश्य तथा भौतिक सम्पदा जो आजसम्म विद्यमान छन्, तीनलाई हाम्रा आगामी पुस्ताका लागी जस्ताको तस्तै रूपमा संरक्षण एवं हस्तान्तरण गर्न जरुरी छ । ती भौतिक सम्पदा हुन भने तीन भौतिकलाई सम्पदालाई जीवन्तता प्रदान गर्न सान्दर्भिक रूपमा विभिन्न स्वरूपमा मानिँदै आएका परम्परागत जात्रा, पर्व, बोलिँदै आएका भाषा, गीत, संगीत, कला, सीप, ज्ञान आदी जो अदृश्य छन्, केबल सुन्न अनुभव गर्न सकिन्छ । ती अभौतिक सम्पदा हुन् । यिनको पुस्तान्तरण पनि त्यतिकै जरुरी छ ।’

बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल भएको थियो । छलफलमा सांसदहरू वामदेव गौतम र भूवनबहादुर सुनार लगायतले भाग लिएका थिए । मन्त्री पाण्डेले यस विधेयकका विषयमा विधायन समितिमा विज्ञहरू बोलाएर थप सैद्धान्तिक छलफल गर्ने बताए । मन्त्री ठकुरीले आजका युवाहरूले अबको नेतृत्व लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =