पारिवारिक खेती अब सम्मानजनक र नाफामूलक पेशा बन्नुपर्छ : कृषिमन्त्री अधिकारी

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक-उद्योग-बजार एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष, प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरूका माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने बताए । नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु-अनुकूलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गरे । पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवर्द्धन गर्ने पक्षमा सामूहिक वकालत गर्नुपर्ने बताए । नेपालमा साना तथा पारिवारिक किसानको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरू निर्माण र सर्वोत्तम अभ्यासहरू आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले भने, ‘नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु-अनुकूलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउन सक्छ। पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानहरूले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि हामीले कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवर्द्धन गर्ने पक्षमा सामूहिक वकालत गर्नुपर्ने भएको छ । नेपालमा साना तथा पारिवारिक किसानहरूको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरू निर्माण र सर्वोत्तम अभ्यासहरू आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र होइन, एक सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नका निमित्त सबै सहभागीहरूमा अनुरोध गर्दछु । जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक-उद्योग-बजार एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष, प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरूका माध्यमबाट हामीले पारिवारिक खेतीको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको मैले महसुस गरेको छु ।’
मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामीण रूपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतीबीच दिगो विकासको आधार स्तम्भको रूपमा विकास गर्नुपर्ने बताए । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिबद्धता लिएर अघि बढेको बताए ।








